संजय सहनी
फागुन ८ गते, रौतहट – रौतहट जिल्लाको गौर नगरपालिका–६ सबगढवामा दुई समुदायबीच तनाव भएपछि स्थिति नियन्त्रणमा लिन सेना सहितको टोली परिचालन गरिएको छ। विवाद साम्य पार्ने प्रयास जारी रहेको छ।


स्थानीय स्रोतका अनुसार हिजो राति एक हिन्दू समुदायको घरमा विवाह कार्यक्रम भइरहेको बेला बाजा बजाउने विषयलाई लिएर केही व्यक्तिबीच विवाद भएको थियो। सोही घटनालाई लिएर आज दुई समुदायबीच झडप भएको बताइएको छ।

सबगढवामा बिहीबार राति एक हिन्दू समुदायको विवाहमा बाजा बजाउँदै जन्ती गएको थियो। त्यसै समयमा, सबगढवामा रहेको मुस्लिम समुदायको मस्जिदमा रातिको समय नमाज पढिरहेको बेला बाजा बजाइएको विषयमा भनाभन भएको थियो।
भनाभनपछि मुस्लिम समुदायका केही व्यक्तिले बाजा बजाउने डिजे समूहका केही सदस्यलाई कुटपिट गरेका थिए। त्यसै विषयलाई लिएर आज बिहानैदेखि पुनः दुई समुदायबीच झडप भएको हो।
आज बिहानैदेखि दुवै पक्षबाट ढुङ्गा प्रहार भइरहेको छ। घटनापछि उक्त क्षेत्रमा बाक्लो सुरक्षाकर्मी परिचालन गरिएको छ। रौतहटका सिडिओ दिनेश सागर भुसालले घटनाको पुष्टि गर्दै नेपाल प्रहरीका एसपी सिताराम रिजाल र सशस्त्र प्रहरीका एसपी रामहरि अधिकारी घटनास्थल पुगेको बताएका छन्।
अवस्था नियन्त्रणमा लिन नेपाली सेना, नेपाल प्रहरी, र सशस्त्र प्रहरी गरी ५०० बढी सुरक्षाकर्मी परिचालन गरिएको सिडिओ भुसालले जानकारी दिएका छन्।
हाल सबगढवा क्षेत्र तनावग्रस्त रहेको छ। ढुङ्गा-मुढा र पथराव जारी रहेको छ। दर्जनौं अश्रुग्यास चलाए पनि स्थिति नियन्त्रणमा नआएपछि थप टोली परिचालन गरिएको छ।
स्थानीय प्रशासनले दुवै पक्षका सर्वसाधारणलाई संयमित रहन आग्रह गरेको छ।






