जुम्ला । आन्तरिक तथा बाह्य पर्यटनको आकर्षक गन्तव्यका रूपमा रहेको रारा तालमा एक वर्षको अवधिमा करिब १९ हजार बढी पर्यटक भित्रिएका छन् ।
रारा ताल कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै गएको छ । यो याममा बागमती, गण्डकी र लुम्बनी प्रदेशबाट घुम्न आउनेको संख्या बढिरहेको छ । सुर्खेत, दैलेख, कालीकोट, जुम्ला हुँदै मुगुको रारा पुगिन्छ । तालसँगै कस्तुरी, मृग, हाब्रे, हिमचितुवा, कालो भालुलगायत ५१ प्रजातिका स्तनधारी वन्यजन्तुको बासस्थान नै राराको विशेषता रहेको निकुञ्ज कार्यालयले जनाएको छ ।

कर्णाली प्रदेशको अर्थतन्त्रलाई प्रभाव पार्ने रारासम्म सहज रूपमा पुग्नका लागि नाग्म–गमगडी सडक र कर्णाली राजमार्गलाई पूरै कालोपत्र बनाउन तीनै तहको सरकारको ध्यानाकर्षण हुनुपर्ने यहाँका होटल व्यवसायी बताउँछन् । पछिल्लो समयमा नेपाली नागरिकमा पनि भ्रमणमा निस्कने प्रचलन बढ्दै गएको पाइन्छ । जोखिमयुक्त भ्रमण गर्ने र ग्रामीण पर्यटनको प्रवद्र्धनमा जोडिएको पाइएको छ ।
हिमाल, पहाडका दृश्य, कर्णालीवासीको संस्कार, संस्कृति, रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्न पर्यटकको आगमन हुने गर्दछ । रारा राष्ट्रिय निकुञ्ज विसं २०३२ मा स्थापना भएको हो । यसको क्षेत्रफल एक सय छ वर्गकिमीमा फैलिएको छ । यसको अधिकतम भाग मुगु र केही भाग जुम्ला जिल्लामा पर्दछ ।
रारा पुगेर जुम्ला आउने अधिकांश आन्तरिक पर्यटकको प्रमुख रोजाइमा यहाँको रैथाने कृषि वस्तु पर्ने गरेको छ । स्वास्थ्यका लागि लाभदायिक र स्वादिष्ट हुने भएकाले जुम्ली रैथाने कृषि वस्तु जुम्ला आउने आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ।
यस वर्षको दसैँतिहारमा मात्र रु तीनदेखि पाँच लाखसम्मको अग्र्यानिक वस्तु बिक्री भएको छ । यहाँको रैथाने वस्तुको माग बढ्दै गएकाले गत वर्ष १२ लाखबराबरको स्याउका चाना, मार्सी चामल, सिमी, ओखर, कोदोको पीठो, चिनो, कागुनो, महलगायतका अग्र्यानिक वस्तुको व्यापार भएको छ ।






