सिन्धुपाल्चोक । पाँच पोखरीको पवित्र हिमाली काखमा महाशिवरात्रिको पावन अवसर पारेर आयोजित विशेष योग–ध्यान, साउन्ड हिलिङ्ग तथा सांस्कृतिक कार्यक्रम भव्य र ऐतिहासिक रूपमा सम्पन्न भएको छ ।
समुद्री सतहबाट करिब ४२०० मिटर उचाइमा अवस्थित यस धार्मिक तथा पर्यटकीय गन्तव्यमा २०८२/११/०१ गतेदेखि सुरु भएको आध्यात्मिक, सांस्कृतिक र साहसिक यात्रा सहभागीहरूका लागि अविस्मरणीय अनुभव बनेको आयोजकले जनाएको छ ।

विश्वकै अग्ला तालहरूमध्ये करिब ९औँ स्थानमा मानिने पाँच पोखरी क्षेत्रमा हिमालको शान्त ऊर्जा र प्राकृतिक सौन्दर्यबीच गरिएको योग–ध्यान तथा साउन्ड हिलिङ्ग अभ्यासले सहभागीहरूलाई गहिरो आत्मिक शान्ति, मानसिक सन्तुलन र सकारात्मक ऊर्जा प्रदान गरेको बताइएको छ ।
कार्यक्रमको आयोजना New Vision Nepal ले गरेको थियो। हिमाली वातावरणमै गरिएको साधनाले ‘प्रकृतिसँगको एकत्व’ को अनुभूति गराएको सहभागीहरूको अनुभव छ ।
सांस्कृतिक प्रस्तुति कार्यक्रमको मुख्य आकर्षण बनेको थियो। कलाकार सबनम खड्गीले जीवित देवी कुमारीको भाव झल्किने कुमारी नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रम सफल बनाउन काठमाडौं महानगरपालिका (सम्पदा तथा पर्यटन विभाग), पाँचपोखरी थाङपाल गाउँपालिका, Third Rock Adventures, Himalayan Wellness Foundation, Natural Sound Healing International School को सहकार्य र सहयोग रहेको थियो । विभिन्न संघ–संस्थाको सहकार्यले कार्यक्रमलाई व्यवस्थित, प्रभावकारी र अन्तर्राष्ट्रिय स्तरसम्म प्रवर्द्धन गर्ने आधार तयार गरेको आयोजकको भनाइ छ ।
संस्थाका अध्यक्ष योगी अशोक शर्मा भट्टको विशेष पहलमा सम्पन्न यस कार्यक्रममा जम्मा २५ जना साधक तथा सहभागी उपस्थित थिए ।






